काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले नुवाकोट र धादिङमा गरी सात जनाको शव फेला परेको जनाएको छ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परेको हो। उनले बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा फेला परेका शव संकलनको काम भइरहेको जानकारी दिए।

रेग्मीका अनुसार बाढीबाट प्रभावित केही व्यक्ति घाइते भएका छन्। दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए।

बाढीका कारण मानिसहरू बेपत्ता भएको सूचनासमेत प्राप्त भइरहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको रेग्मीले जानकारी दिए।