काठमाडौं - शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज-कात्तिक र चैत-वैशाखको समय पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ ।
पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग सहित पर्यटकीय गन्तव्यमा पर्यटक पुग्न सुरु गरेका छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्य असोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिनुभयो ।
पोखरा- मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि अन्नपूर्ण क्षेत्रमा भित्रने पर्यटकको सहज आउजाउमा बाधा पुर्याइरहेको अध्यक्ष आचार्यको भनाइ छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाई यात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।


0 comment