काठमाडौं - दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ ।

यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक- एक जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । 

कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेङ्गी सङ्क्रमण देखिएको हो । 

हालसम्म एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

अझै डेङ्गी सङ्क्रमणदर अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।