काठमाडौं - जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट देशभर १४ जनाको मृत्यु भएको छ । 

जापानिज इन्सेफ्लाइटिसले देशभर अहिलेसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाजनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षण गर्दा ६१ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको हो । 

भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजकता अपनाउन आग्रह गरिएको छ । सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ तर जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको चिकित्कको भनाई छ । 

‘क्युलेक्स’ लामखुट्टेले फोहर पानीमा फुल पार्ने गर्दछ । जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखापर्ने गर्दछ । 

सरकारले सन् २०१६ देखि नै जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिँदै आएको छ । 
सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिए पनि पछि जन्मेका सबै बालबालिकालाई उक्त सङ्क्रमणबाट जोगाउन खोप दिँदै आएको छ । जापानिज इन्सेफ्लाटिस् धेरै जसो १५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । 

लामखुट्टेले टोकेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने,  कम्पन हुनेजस्ता समस्या देखिने गर्दछ ।

लामखुट्टेको टोकाइबाट बच्न झूल टाँगेर मात्र सुत्ने, हाँस, कुखुरा, सुँगुरजस्ता घरपालुवा जनावरलाई घरदेखि टाढा राख्ने, घरबाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने, घरको झ्याल, ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे बृद्धि हुने भएकाले घर वरिपरि पानी जम्न खाल्डाखुल्डी पुर्ने, लामखुट्टे भगाउने धूप बाल्ने वा मलम लगाउनुपर्दछ ।