काठमाडौं - दक्षिणी चीन र फिलिपिन्समा आएको 'यागी' नाम दिइएको आँधीका कारण भियतनाममा नौ जनाको मृत्यु भएको छ ।

आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको छ । 

उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा  आज बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए ।

स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ ।

भियतनामभन्दा  पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।