काठमाडौं - धादिङको नीलकण्ठ नगरपालिका- ३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो ।

स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सूक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भइरहेको बताउनुभयो । 

सेवा सुरु भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण भएमा मेमोग्राम गर्न डाक्टरको सुझाव छ। 

धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिँदै आएका छन् ।