काठमाडौं - मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो ।

यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमण जस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् ।

हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताउनुभयो । 

यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा छ, बकैया गाउँपालिकामा सात, भीमफेदी गाउँपालिकामा चार, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र  राक्सिराङ गाउँपालिकामा एक- एक जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिनुभयो । 

मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गर्नुभयो ।