काठमाडौं - चितवनको भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ ।
जेहनदार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति अनुसार शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको बताउनुभयो छात्रवृत्ति पाएका मध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।
छात्रवृत्ति पाउनेमा जेहनदारतर्फ ९९, गरिब तथा विपन्न तर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका छोराछारीतर्फ २४ जना रहेका छन् ।
0 comment