काठमाडौं - तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले बढेर एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । 

शुक्ला गण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच- पाँच जनामा डेङ्गी पुष्टि भएको  छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताउनुभयो । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको सङ्ख्या शून्य छ । 

सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेङ्गी सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगम राज उपाध्यायले बताउनुभयो । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । 

गाउँपालिकाले डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।