काठमाडौं - झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुती, प्रयोगशाला र अल्ट्रासाउन्ड लगायतका सेवा उपलब्ध छन् । 

प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएण्डसी अस्पताल समेत रहेको जिल्लामा १५  शैयाभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित रहेका छन् । 

मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिका बासीले सेवा लिइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताउनुभयो ।

दमक, बिर्तामोड र अर्जुनधारामा नगर क्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

जिल्लाको पुरानो सदरमुकाम भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने बिर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल छन् । 

मेचीनगर वडा नं. १० धुलाबारीमा नगर आधारभूत अस्पताल सञ्चालनमा छ । अस्पतालमा चार जना एमबीबीएस चिकित्सकले सेवा दिन थालेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।

मेचीनगरको पन्ध्र वटै वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको उहाँले बताउनुभयो।