काठमाडौं - पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको छ ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) लाई उधृद गर्दै डन न्यूजले मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउनुका साथै अन्य ११ जना घाइते भएको र तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको जनाएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई- १ देखि अगस्ट- १७ सम्म वर्षा जन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।
पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको र राहत वितरण कार्य जारी रहेको बताउनुभएको छ । बलुचिस्तानले जुलाई- १ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ ।
बर्षा जन्य प्रकोपको परिणाम स्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ ।
सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड गरिएको छ ।
बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीले क्षति गरेको ठाउँमा मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताएका छन् ।
एजेन्सी/ एएनआई
फोटोः टाइम्स अफ इन्डिया
0 comment