– डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ
उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको प्रमुख कारण अस्वस्थ आहार भएकोले खानपिनमा सुधार गरे विना औषधि अधिकांस व्यक्तिमा कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा घटाउनुको साथै बन्द समेत गर्न मिल्छ । औषधि खानै पर्ने अवस्थाहरु (मुटुरोग, मस्तिष्कघात, बल्केजको रोग, मधुमेह, वंशाणुगत, धुम्रपान, मुटुरोगको खतरा बढी भएको, स्टेन्ट राखेको आदि) बाहेकका व्यक्तिले औषधिको प्रयोग नगरी अरु उपायले नियन्त्रण गर्नुपर्छ । खाना बाट पनि ३ देखि ६ महिना भित्रमा नियन्त्रण नभएमा औषधिको प्रयोग गर्नु उचित हुन्छ । सुरु मै अत्याधिक उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइड देखिएमा थोरै समयको लागि चिकित्सकको परामर्श अनुसार औषधि सेवन गरी, जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । खानाबाट उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रण गर्न सबभन्दा पहिला सैचुरेटेड फ्याट र टान्स फ्याटको प्रयोगलाई न्यून गर्नुपर्छ । बनस्पतिबाट नै प्राप्त हुने रेसादार खाना बढी खानुपर्छ । रिफाइन्ड कार्बोहाइट्रेड (जुन जंकफुडमा पाइन्छ) लाई कम र प्राकृतिक कम्प्लेक्स कार्वाेहाइट्रेड (जुन वनस्पतीबाट प्राप्त हुन्छ) बढी प्रयोग गर्नुपर्छ । जनावरबाट प्राप्त हुने खाना (मासु, दुध) कम खाने र वनस्पतीबाट प्राप्त हुने खाना धेरै खाने गरेमा कोलेस्ट्रोल नियन्त्रण गर्न सजिलो हुन्छ ।
भात, गँहु, मकै
भातमा कार्बोहाइट्रेड बढी हुने भएको ले यसको जती कम प्रयोग गरिन्छ, उत्ति नै स्वस्थकर हुन्छ । भात बढी खानेहरुमा ट्राइग्लीसेराइड बढी हुने र राम्रो कोलेस्ट्रोल कम हुने गरेको पाइन्छ । गँहु र मकै भन्दा भातमा फाइवर र अन्य पोषण तत्वहरु पनि कम हुन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रणका लागि भात भन्दा गँहु र मकैको प्रयोगमा बढी जोड दिनुपर्छ । भातको धेरै प्रयोगले मधुमेह लगायत भविष्यमा मुटु रोगको पनि खतरा बढाउँछ । ट्राइग्लीसेराइडलाई नियन्त्रण गर्न भात थोरै खानु लाभदायक हुन्छ । दिनमा एक पटक भात र एक पटक रोटी, मकै खानु राम्रो उपाय हुनसक्छ ।
दाल, गेडागुडी
कोलेस्ट्रोलको नियन्त्रणको लागि दाल तथा गेडागुडी उत्तम खाना मानिन्छ । यसमा फाइवर धेरै हुन्छ, चिल्लो हुँदैन, कार्बोहाइट्रेड पनि कम हुन्छ, त्यसैले निरोगी र रोगी दुबैको लागि यो सर्वोत्तम आहार हो ।
सागसब्जी, तरकारी र सलाद
सागसब्जी, तरकारी र सलादमा कोलेस्ट्रोल हुँदैन। फाइवर प्रशस्त मात्रामा हुने भएकोले, कोलेस्ट्रोल घटाउन पनि सहयोग गर्छ । यसमा क्यालोरी पनि कम हुने भएकोले मोटोपना हुन नदिन मद्दत पुर्याउछ । यसले रगतमा राम्रो कोलेस्ट्रोल (एच.डी.एल.)को स्तर पनि बढाउँछ । कोलेस्ट्रोल नियन्त्रणको लागि खानाको प्रत्येक छाकमा प्रशस्त सागसब्जी हुनु जरुरी हुन्छ, तर यसलाई धेरै तेलमा लामो समयसम्म नपकाएर सकेसम्म प्राकृतिक रुपमा (बोक्रा नझिकेको) खानु राम्रो हुन्छ ।
फलफूल
फलफूलमा चिल्लोको मात्रा अत्यन्तै न्यून हुने भएकाले कोलेस्ट्रोल बढाउँदैन सँगै राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्दछ । फाइबर प्रशस्त हुने भएकाले अरु खानामा पाइने कोलेस्ट्रोलको आन्द्रामा शोषण पनि घटाउँछ ।
ड्राइफ्रुट
कोलेस्ट्रोलका बिरामीले ड्राइफ्रुट खानु हुँदैन, यसले कोलेस्ट्रोलको मात्रा बढाउछ भन्ने भ्रम धेरैमा भएको पाइन्छ । यसमा फ्याटको मात्रा हुन्छ, तर सेचुरेटडट फ्याट भन्दा अन सेचुरेटेड फ्याट बढी हुन्छ, जसले रगतमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ । ड्राइफुटहरु मध्ये पनि आल्मोण्ड(बदाम), ओखर, पिस्ता राम्रो मानिन्छ । सामान्य व्यक्तिले पनि दिनमा एक मुठी ड्राइफुट खानु कोलेस्ट्रोलको दृष्टिले राम्रो मानिन्छ । अरु ड्राइफ्रुटभन्दा काजुमा अली बढी फ्याट हुन्छ, तर यसको प्रयोग पनि स्वस्थकर नै हुन्छ ।
दूध, दहि, घ्यू
दुधको प्रयोगले ट्राइग्लीसेराइड सँगसँगै कोलेस्ट्रोल पनि बढ्ने सम्भावना हुन्छ । दुधबाट बन्ने अन्य परिकारको प्रयोगले पनि कोलेस्ट्रोल/ट्राइग्लीसेराइड बढ्न सक्छ । त्यसैले उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि खानामा दुध र दुधजन्य खानाको प्रयोगलाई न्यून गर्न जरुरी हुन्छ । कम चिल्लो दुध थोरै मात्रामा खान सकिन्छ । दुधभन्दा दही र महिमा फ्याट कम हुने भएकोले, चिल्लो कम दही र महिको प्रयोग गर्न मिल्छ । तर कोलेस्ट्रोलको औषधि सेवन गर्नु भन्दा दुध नखानु नै राम्रो उपाय हो । राती सुत्ने बेलामा दुध खाने बानी हटाउँन जरुरी हुन्छ । घ्युमा सैचुरेटेड फ्याट बढी भएकाले खानु नै हुँदैन । बनस्पती घ्युमा टान्स फ्याट बढी भएकोले खाने सोच्नु पनि हुदैन ।
खाने तेल
खाने तेलमा अन सैचुरेटेड फ्याट बढी हुन्छ जसले कोलेस्ट्रोलमा धेरै नराम्रो असर त गर्दैन, तर यसको प्रयोग पनि बढी गरिएमा ट्राइग्लीसेराइड बढ्ने र मोटोपना हुने संभावना बढी हुनसक्छ । त्यसैले यसको प्रयोग पनि सकेसम्म कम गर्नुपर्छ ।
अण्डा
अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउँछ । त्यसैले उच्च कोलेस्ट्रोल भएकाले पहेलो भाग खानु हुदैन, तर सेतो भाग जती खादा पनि हुन्छ । सामान्य व्यक्तिले पनि हप्तामा २ बटा भन्दा बढी पहेलो भाग खानु हुँदैन भने मधुमेह, मुटुरोगी, आदिले एउटा पनि नखानु राम्रो हुन्छ ।
कुखुराको मासु
धेरै मानिसमा कुखुराको मासुले कोलेस्ट्रोल बढाउँदैन भन्ने भ्रम भएको देखिन्छ । कुखुराको छाला र भित्री भागमा बोसो अत्याधिक हुन्छ । कुखुराको मासुले पनि कोलेस्ट्रोल÷ट्राइग्लीसेराइड बढाउँछ । कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले छाला नभएको मासुमा कम तेलको प्रयोग गरी थोरै मात्रामा खान मिल्छ । सामान्य व्यक्तिले पनि हप्तामा एक पटक भन्दा बढी कुखुरा खानु हुँदैन ।
रातो मासु
यसमा प्रसस्त सैचुरेटेड फ्याट भएकोले उच्च कोलेस्ट्रोलको बिरामीले रातो मासु भने कहिले पनि खानु हुँदैन । सामान्य व्यक्तिले पनि थोरै मात्रामा महिनामा बढीमा एक पटक भन्दा बढी खानु हुदैन ।
माछा
कोलेस्ट्रोलको दृष्ट्रिकोणले माछा राम्रो खाना मानिन्छ । तर थोरै तेलमा अली अली तालेर मात्र खानु राम्रो मानिन्छ । हप्तामा २ पटक माछा खानुले राम्रो कोलेस्ट्रोलको स्तर बढ्छ । तर, यो पनि पकाउने तरीका र माछाको शुद्धतामा भरपर्छ ।
जंकफुड
रेडिमेड र फास्टफूडहरु (जुन पसलबाट किनेर ल्याइन्छ), भुटेको वा तारेको खाना, आइसक्रिम, केक, पेस्ट्रिज, मिठाई आदि खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याट बढी पाइन्छ छ र यसमा क्यालोरी पनि अत्याधिक हुन्छ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि यस्तो खाना हानिकारक भएकोेले कोलेस्ट्रोल सामान्य भएका व्यक्तिले पनि सकेसम्म यसको प्रयोग गर्नु हुँदैन ।
मिठाई
यसमा दुध, चिनी र तेलको प्रेयोग गरिएको हुन्छ । यसको प्रयोगले कोलेस्ट्रोल/ट्राइग्लीसेराइडलको स्तरमा नराम्रो असर पर्छ । त्यसैले यसलाई न्यून मात्रामा मात्र प्रयोग गर्नुपर्छ । मिठाईमा क्यालोरी बढी हुनाले मेटोपनको संभावना पनि बढी हुन्छ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मिठाई नखानु राम्रो हो ।
रेस्टुरेन्ट तथा पार्टी
रेस्टुरेन्ट तथा पार्टीमा तेल र घ्यूको प्रयोग बढी गरिनुको साथै यसको गुणस्तर पनि भरपर्दो नहुन सक्छ । यस्तो खाना स्वास्थ्यको लागि राम्रो मानिदैन । कोलेस्ट्रोल उच्च भएका व्यक्तिले यस्तो खाना कम गर्नुपर्छ । कोलेस्ट्रोल नियन्त्रण गर्नको लागि घर बाहिरको खाना अत्यन्तै कम खानु पर्छ ।
गुलियो खाना
जुन खाना वा पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ त्यस्तो खाना खानु हुँदैन । । कोण्डड्रिंक्स/जुस आदिको प्रयोगले पनि ट्राइग्लीसेराइड बढाउने संभावना हुन्छ । सकेसम्म चिनी मिसाइएको जुनसुकै खाना भएपनि नखानु वा थोरै खानु राम्रो हो ।
चिया-कफी
यसमा पनि चिनी तथा दुधको प्रयोग गरिएको हुन्छ, जुन कोलेस्ट्रोल उच्च भएका व्यक्तिका लागि उत्तम मानिदैन र यसमा क्यालोरी पनि बढी हुन्छ । त्यसैले दुध भएको चिया दिनमा एक पटक भन्दा बढी खानु हुँदैन । सकेसम्म कागती चिया पिउनु राम्रो हुन्छ ।
मदिरा
जुनसुकै मदिरामा क्यालोरी बढी हुन्छ, जसले मोटोपना गराउँछ । अत्याधिक मदिरा, वियरको प्रयोगले रगतमा ट्राइग्लीसेराइडको स्तर बढाउँछ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मदिराको प्रयोग नगर्नु नै राम्रो मानिन्छ भने अत्याधिक प्रयोग गर्नेहरुले मात्रामा नियन्त्रण गर्नु जरुरी हुन्छ । मुटुलाई थोरै मदिराले राम्रो गर्छ भने तत्थ्य अझ पनि विवाद कै विषय हो । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्क रोग, मृर्गौला रोग, मोटोपन आदिले पिडितले मात्रै हैन, एउटा स्वस्थ नवयुवकले पनि आफूले खाने खानाको गुण र अवगुणमा ध्यान दिनु जरुरी हुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न निरन्तर प्रयासरत हुनुपर्छ । नियमित एक घण्टा हिड्नु, चुरोटको सेवन नगर्नु, तौललाई नियन्त्रणमा राख्नु र मदिराको प्रयोग नगर्नु वा कम गर्नु पनि खानपीन सँगसँगै उत्तिकै जरुरी मानिन्छ । घरको खाना, शाकाहारी खाना र बनस्पतिबाट प्राप्त हुने खानाको प्रयोग गरेमा कोलेस्ट्रोलको समस्या हुँदैन र औषधिको मात्रा घटाउँने र बन्दै गर्न मिल्ने पनि हुनसक्छ ।
0 comment