काठमाडौं - कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन्। विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई विद्यार्थीको मूल्याङ्कन गरिने भएको हो । 

टीकापुर नगरपालिकाले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेको हो । कक्षा १ देखि ३ सम्म यहि भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन नतिजा दिने अधिकृत नरेश अवस्थीले बताउनुभयो ।

जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्याङ्कनलाई कडाइका साथ लागू गर्ने र अन्य कक्षाको लागि मात्रै प्रश्नपत्र निर्माण गर्न थालेको जनाएको छ ।

जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि  निरन्तर मूल्याङ्कन शतप्रतिशत लागू गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ सम्म प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिनुभयो ।

टीकापुर, जोशीपुर र जानकीले जस्तै लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट मूल्याङ्कनलाई जोड दिएको छ । गत वर्षबाट लागू गर्ने प्रयास गरे पनि सफल नभएको र यस वर्षबाट भने लागू गरिसकेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताउनुभयो ।