काठमाडौं - सरकारले सरकारी अस्पतालमा डेङ्गी रोगका विरामीलाई निशुल्क उपचारको व्यवस्था मिलाएको छ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा डेङ्गीका विरामीलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको हो ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह पनि गरेको छ ।
मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेङ्गी सङ्क्रमण र एकजनाको मृत्यु भएको छ ।
0 comment