काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो वर्ष २ वा सोभन्दा बढी विषयमा पनि ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।  यस वर्ष ननग्रेड ल्याएका ५२ हजार विद्यार्थी रहेको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिनुभयो।

पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा असार १३ मा सार्वजनिक गरेको थियो ।