काठमाडौं – कोशी प्रदेशमा डेंगुको संक्रमण बढ्दो अवस्थामा पाइएको छ । कोशी प्रदेशको धरान उपमहानगरपालिकामा डेंगुको संक्रमणले हालसम्म ६ जनाको मृत्यु भईसकेको छ । ती मध्ये चार जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अहिलेसम्म १९ सय ११ जनामा संक्रमण देखिएको छ । बैशाखको अन्तिमदेखि नै धरानमा डेंगुको प्रकोप बढ्न थालेको हो । धरान उपमहानगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ ।
यो अभियान धरानका रहेका सबै टोलहरुमा गरिने गरेका छौं । जनचेतनाको लागि घरदैलो कार्याक्रम, विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गरिएको मेहताले जनाए ।
उनले हाल देखिएको डेंगुले महामारीको रूप नलिएको तर महामारीको रूपमा जान सक्ने संकेत गरेको बताए । ‘धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । यी चारै वडामा सबैको सहयोगमा घरघरमा पुग्ने अभियान चलाइरहेका छौँ,’ जनस्वास्थ्य अधिकृत मेहताले भने, ‘त्यसमध्ये पनि १७ नम्बर वडा बढी प्रभावित रहेको बताइएको छ । उक्त वडामा मात्रै लगभग ५ सय सङ्क्रमित छन् ।’
0 comment