काठमाडौं - होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किंदा ४१ जना कैदीको मृत्यु भएको छ।
राजधानी तेगुसिगाल्पा नजिकै रहेको लामो समयदेखि समस्याग्रस्त कारागारमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो । अधिकांश पीडित जलेका छन् भने केहीलाई गोली लागेको छ । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । कारागारमा क्षमताभन्दा लगभग दोब्बर ८०० कैदीहरूलाई राखिएको छ ।
महिला कारागारमा हालैका वर्षहरूमा हत्या-हिंसाका घटनाहरू बढेका छन् । दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।
सन् २०१९ मा पनि घटेको यस्तै घटनामा ४० जनाको मृत्यु भएको थियो।
लामो समयदेखिका प्रतिद्वन्द्वी एमएस-१३ र १८ स्ट्रिट ग्यान्गले दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।
ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर-सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा छन् ।
राष्ट्रपति जिओमारा क्यास्ट्रो र सुरक्षा उपमन्त्री तथा होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले घटनाले आफुहरु स्तब्ध भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन कडा कदम चालिने बताएका छन् ।
- रासस
0 comment