काठमाडौं - नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक प्रमाणीकरण खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ।  

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नेमकिपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्। नागरिकता विधेयक देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न प्रमाणीकरण गरिएको नेमकिपाका आरोप छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा कोटेश्वरदेखि निकालिएको र्‍याली संसद भवन अगाडि पुगेर विरोधमा उत्रिएको हो। 

नेपाली लेण्डूपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔं, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायत नारा लेखिएको ब्यानरसहित उनीहरू विरोधमा उत्रिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि विरोध सुरू भएको छ। नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा  परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। 

अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्ष दललगायत विरोधमा उत्रिएका छन्।

सत्तापक्षको समर्थन, प्रतिपक्षको विरोध

नागरिकता विधेयक प्रमाणीकरणको विषयमा सत्तारुढ र प्रतिपक्षीबीच मतभेद देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले संसद बैठक अवरुद्ध गरेको छ भने सत्तापक्षले दुई–दुईपटक सदनमा छलफल भएर राष्ट्रपति कार्यालयमा पुगेको विधेयक प्रमाणीकरण स्वभाविक भएको प्रतिक्रिया दिएको छ ।

ताजा जनादेश प्राप्त संसद आइसकेको अवस्थामा उक्त विधेयकलाई दर्ता गरेर प्रक्रियामार्फत् नै अघि बढाउनुपर्ने एमालेको धारणा रहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए।  त्यस्तै उनले नागरिकता विधेयकमा रहेको विषयवस्तुमा पनि एमालेको असहमति रहेको उल्लेख गरे। विदेशी चेली नेपालीसँग विवाह गर्दा तत्काल नागरिकता दिने प्रावधानले भविष्यमा ठूलो असर पर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाली कांग्रेसका नेता प्रदीप पाडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताए । अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वभाविक नरहे पनि त्यही विधेयकलाई नै अहिले प्रक्रिया मिचेर प्रमाणीकरण भएको उनले बताए । उनले नागरिकता विधेयकभित्रको विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे।

यता माओवादी केन्द्रका नेता माधव सापकोटाले संसदमा दुई–दुई पटक छलफल भएर सम्पूर्ण प्रक्रिया पुरा गरेर प्रमाणीकरण हुन मात्र बाँकी रहेकोमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको बताए । अहिले त्यही विषयलाई लिएर सदनमा विरोध गर्नु जायज कुरा नभएको उनले बताए । उनले प्रक्रियामा बारेमा सदनमा सवैले कुरा राख्न पाउने भएपनि यसलाई प्रतिपक्षीले सदनमा हंगामा गर्नका लागि विषयमात्रै बनाएको धारणा राखे।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृतबाट जन्मेकालाई वंशजको नागरिकता दिनै नमिल्ने बताए । भारतले नेपाललाई सिक्कीम र भुटान प्रयन्त गरिरहेको भन्दै त्यसको विरुद्धमा जनता उठ्नुपर्ने उनले बताए।