काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपति पौडैलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिए। उनले भने-'राष्ट्रपतिज्यूले आज नागरिक विधेयक प्रमाणीकरण गर्नु भएको हो।'

यसअघि संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक  प्रमाणीकरण नभइ फिर्ता भएको थियो।

अहिलेको सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो।  जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुबै सदनबाट पास भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको हो।

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको थियो।