काठमाडौं – जनता समाजवादी पार्टी जसपा ले कोशी प्रदेश सरकार छोड्ने निर्णय गरेको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपा बाहिरिएको हो । जसपा प्रदेश समितिको बैठकले कोशी सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको हो ।नेकपा (एमाले) नेतृत्वको सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री थिइन् ।

एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत पुस २५ गते जसपा सहभागी भएको थियो । जसपाले सरकारबाट बाहिरिन गरेको निर्णयबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएको छ । जसपाले सरकार छाड्ने निर्णयसँगै हिक्मत कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ ।

सरकारमा सहभागी कुनैपनि राजनीतिक दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा संसद (प्रदेशसभा)बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत प्राप्त गर्न नसके सरकार ढल्छ । केन्द्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायतका दलको सत्ता गठबन्धन छ । कोसी प्रदेशको सत्ता पक्षीय गठबन्धन भने केन्द्रको गठबन्धन विपरीत छ ।

जसपा बाहिरिए पनि माओवादीले भने प्रदेश सरकारलाई दिएको समर्थन हालसम्म यथावत राखेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेका बेला जसपाले भने सरकार छाडेको हो । कांग्रेसको प्रदेश संसदीय दलले माओवादी र जसपालाई सरकार छाड्न दबाब दिइरहेको थियो । एक साताअघि औपचारिक पत्र पठाएरै सरकार छाड्न उसले आग्रह गरेको हो ।