काठमाडौं - फेवाताल किनारमा रहेको रत्न मन्दिर (राजदरबार) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
गणतन्त्र दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरेका हुन्। राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा २०१३ सालमा रत्नमन्दिर बनाएका थिए ।
२०६४ सालमा गणतन्त्र आएसँगै दरबार नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । नेपाल ट्रस्टको स्वामित्वमा आएको दरबारलाई शाहवंशीय राजाको इतिहास अध्ययन केन्द्रको साथै जैविक विविधता पार्कको रुपमा विकास गरी खुला गर्न पोखराका पर्यटन व्यवसायीले माग गर्दै आएका थिए । रत्न मन्दिर परिसरको २८ रोपनी क्षेत्रको अवलोकनका लागि मात्र दरबार खुला गरिएको हो। साँगुरो संरचनाका कारण दरबारभित्र अवलोकनका लागि व्यवस्थित गर्न अप्ठ्यारो पर्ने भएकोले दरबारभित्र अवलोकन गर्ने सहज वातावरण बनाउन भने केही समय लाग्ने बताइएको छ ।
रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई १ हजार, नेपालीलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिने तयारी छ । तत्कालीन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे ।
चारैतिर पर्खालले घेरिएको रत्न मन्दिर पर्यटकका लागि मात्र होइन स्थानीयका लागि पनि कौतुहल विषय बन्दै आएको छ । २०१३ सालमा निमार्ण पुरा भएको रत्नमन्दिर १७४ रोपनी क्षेत्रफलमा रहेको छ । रत्नमन्दिर परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षण रहेको छ । बंगलामा ११ कोठा रहेका छन् । त्यससँगै राजा पोखरा आउँदा दैनिक रुपमा कामकाज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैचा रहेका छन् ।
रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएसँगै पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बिने पर्यटन व्यवसायीको विश्वास छ । पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकले ताल किनारको राजदरबार कस्तो छ भन्ने जिज्ञासा राख्ने गर्छन् । दरबार खुला भएसँगै पर्खालले घेरिएर रहेको राजा बस्ने दरबार कस्तो छ भन्ने जिज्ञासा अब मेटिने छ ।
रत्न मन्दिरमा ४१ वर्ष जागीर खाएर रिटायर जीवन बिताइरहेकी ८२ वर्षीय प्रताप कुमारी अधिकारी राजा बस्ने दरबार कस्तो होला भन्ने जिज्ञासा सबैमा भएपनि दरबार सामान्य रहेको बताउँछिन् । दरबारका कोठा साँगुरा रहेको र खाट, बेड विस्तारा पनि समान्य रहेको उनले सुनाइन् ।
0 comment