काठमाडौं - नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि एमालेले आज संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको हो।
एमाले प्रमुख सचेतक पदम गिरीले विना आधार ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाएको भन्ने आरोप लगाइएकोमा आपत्ती जनाए । उनले भने,' हामीमाथि सुनियोजित ढंगले लगाइएको आरोप के हो ? यसबारे सरकारको धारणा के छ ? सरकारले त्यो सुन हो कि पित्तल यसबारे यो सदनलाई स्पष्ट ढंगले जानकारी दिनुपर्छ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङले आफूहरु सदन रोक्न नहुने पक्षमा रहेको भएपनि सत्तापक्षको तर्फबाट जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नरहेको र गैर जिम्मेवार रहेकाले विरोध गर्नुपरेको धारणा राखे।
प्रमुख प्रतिपक्षी दलका नेतामाथि सदनमा गम्भीर प्रश्न उठेपनि यो आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने उनले बताए। यसलाई राफसाफ नगरेसम्म सदन चल्न नसक्ने नेम्वाङको भनाइ छ ।
एमालेले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी सुनको हो कि पित्तल यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिनुपर्ने माग गरेको छ। एमाले सांसदहरूले बेल घेराउ गरेर सरकारविरुद्ध नाराबाजी गरेका छन्।
0 comment