काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन्।
महासचिव पोखरेलले अडियो-भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा समेत छानबीनको दायरामा नल्याएको भन्दै दोषी उम्काउने आशंकालाई पुष्टि भएको बताएका हुन्। भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्न दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने सत्तापक्ष लागि परिरहेको आरोप एमालेले लगाउँदै आएको छ।
संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको कमजोरीको जति आलोचना गरेपनि कम हुने उनको भनाई छ। ‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो-भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रक्रियामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुप अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ ।’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत भने, ‘यति संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’
पोखरेलले पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नि मञ्जुलगायत सत्ता पक्षका सांसदलाई पीडितले रकम बुझाएको अडियो सार्वजनिक भएपनि छानबिनको दायरामा नल्याइएपछि यस्तो बताएका हुन्।
0 comment