काठमाडौं - भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको दिन अर्थात २२ मेलाई आज भलिबलको जन्म दिवसको रुपमा मनाइएको छ ।

नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केक काटेका थिए ।

च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेठ ८ (२२ मे २०१७) मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएको र सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना भएकाले आफूलाई निकैनै खुशी दिलाएको बताए । उनले भलिबलको विकासमा सक्दो सहयोग गर्न तयार रहेको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले एसीसहितको कभर्ड हल बनाउनका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

पहिलो दिन आज भएका खेलमा नेपाल, भारत र उज्वेकिस्तान विजयी भएका छन् ।