काठमाडौं - १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लबले जितेको छ। 

धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा बुधवाबार सम्पन्न फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४-० ले पराजित गर्दै प्लानिङले उपाधि जितेको हो। उपाधिसँगै विजेताले ५ लाख नगद र ट्रफी हात पार्‍यो भने उपविजेता विरगञ्ज युनाइटेडले २ लाख ५० हजारसहित ट्रफीमा चित्त बझायो।
 
ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक-एक गोल गरे। 

खेलको ४४औं मिनेटमा यो नेपोलियनले गोल गर्दै प्लानिङ ब्वाइजलाई सुरुवाती अग्रता दिलाए। ७२औं मिनेटमा प्लानिङका डिफेन्डर विशाल दर्जीले अग्रता दोब्बर बनाए। ७३औं मिनेटमा समिर थापाले तेस्रो गोल गरे भने ९०औं मिनेटमा निपोलियनले पुनः एक गोल थप्दै जित सुनिश्चित गरे। प्रतियोगितामा सहभागी भएको पहिलो पटकमा नै प्लानिङ ब्वाइजले उपाधि जित्न सफल भयो। 

फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनास थापा मगर घोषित भए। उनले ४ हजार नगद हात पारे। त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, लोकेश चौधरी उत्कृष्ट गोलकिपर, यो निपोलियन उत्कृष्ट स्टाइकर र सचिन्द्र धिमाल उत्कृष्ट प्रशिक्षक घोषित भए। वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए। उनीहरूले जनही ७-७ हजार नगद र ट्रफी हात पारे। 

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डेडी वाम्वा घोषित भए। उनले १५ हजार नगद र ट्रफी प्राप्त गरे। 

विजेता टोलीका प्रशिक्षक सचिन्द्र धिमालले विगतका संस्करणमा खेलाडीको रूपमा गोल्डकपको उपाधि जितेका थिए। प्रशिक्षकको रूपमा उपाधि जित्दा अविश्मरणीय क्षण बनेको उनले बताए। 

त्यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामाले भीमनारायण प्रतिष्ठानले एकेडेमी स्थापना गरेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एएफसी सामाजिक उत्तरदायी समितिमा नेपालको तर्फबाट सदस्यसमेत रहेका उनले प्रतिष्ठानले प्रतियोगितासँगै क्षमतावान् खेलाडी उत्पादन गर्न एकेडेमी सञ्चालन गरेको खण्डमा आफूले सक्दो सहयोग र पहल गर्ने बताए।