काठमाडौं - अञ्जन विष्टको ह्याट्रिकको मद्दतले न्युरोड टिम (एनआरटी)लाई ४–१ ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

च्यासल रंगशालामा भएको खेलको ४०औं मिनेटमा सुशील साहले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

५१औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। त्यसको ९ मिनेट नबित्दै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमार्फत अञ्जनले ह्याट्रिक गर्दै अग्रता ४–० मा लम्ब्याएका थिए। इन्जुरी समयमा दिपेश आले मगरले एनआरटीका लागि एक गोल फर्काए। 

जितसँगै १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १७ अंक जोडेको एनआरटी १० औं स्थानमा छ।

आजै दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेलेका छन्। गोलका लागि दुवै टिमले अवसर सिर्जना गरे पनि फिनिसिङ छरितो नहुँदा खेल बराबरीमा सकियो। 

बराबरीसँगै १५ खेलबाट १९ अंक जोडेको मनाङ लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट २३ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ।

त्यसैगरी, आजै दशरथ रंगशालामा भएको दोश्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले पनि गोलरहित बराबरी खेलेका छन्।  

बराबरीसँगै १५ खेलबाट २४ अंक जोडेको थ्री स्टार लिग तालिकाको तेश्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १६ अंक जोडेको फ्रेन्ड्स १२ औँ स्थानमा छ।