काठमाडौं - २२०० वर्ष पुरानो संरचनाको भग्नावशेष फेला परेको झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल किचकबधमा नवौँ चरणको उत्खनन सम्पन्न भएको छ। नवौँ चरण अर्थात् २४ वर्षमा ३० प्रतिशत मात्र उत्खनन सम्पन्न हुँदा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा समस्या देखिएको छ। जसले गर्दा किचकबध नेपाल सम्पदा सूचीमा पनि पर्न सकेको छैन। एक महिनाको छोटो अवधिका कारण किचकबधको उत्खनन कार्यमा ढिलासुस्ती भएको हो।
पुरातत्त्व विभागले किचकबधको उत्खनन गर्न वार्षिक १० लाख बजेट छुट्टाउँदै आएको छ। ‘एक करोड बजेट छुट्टाएर कम्तीमा तीन महिनासम्म लगातार किचकबधमा उत्खनन गर्न पाउँदा यहाँबाट अरू ऐतिहासिक संरचनाको भग्नावशेष फेला पर्न सकिन्छ,’ पुरातत्त्वविद् उद्धव आचार्यले थपे।
किचकबधको पुरानो मूर्ति र दुई वटा पिपलको अग्लो रुख भएको स्थानमा उत्खनन हुन सकेको छैन। त्यस ठाउँमा उत्खनन गरिएमा महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला पर्न सक्ने प्रबल सम्भावना रहेको पुरातत्त्वविद् आचार्यले बताए।
सातौं र आठौं चरणको उत्खननले फेला परेको एउटा भवनको भग्नावशेषलाई नवौं चरणको उत्खननले पूर्णता दिएको उनले बताए। त्यो भवनको आकृति दरबार जस्तो छ। पाँचै तिर मान्छे बस्ने र भवनको बीचमा एउटा मन्दिर (धार्मिक स्थल) को भग्नावशेष फेला परेकाले त्यसलाई संरक्षण गरिएको उनको भनाइ छ।
पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा २०५८ सालमा पहिलोपटक किचकबधमा उत्खनन गरिएको थियो। नवौँ चरणको उत्खननको क्रममा धेरै पुरातात्त्विक सामग्री यहाँ फेला परेको छ। माटाको घैला, पुराना इँटाका टुक्रा, वाण, भाला, ढुंगाका भाँडाकुँडा, माटाका मूर्ति, ९ वटा दरबारका संरचना, सुरक्षा पोस्टहरू फेला परेको बताउँदै उनले भने, ‘सीमित बजेटका कारण २४ वर्ष बितिसक्दा पनि उत्खनन सम्पन्न हुन सकेन, अब उत्खनन सम्पन्न गराउन स्थानीय सरकार तथा प्रदेश सरकार लाग्नुपर्छ।’
फेला परेको भग्नावशेषहरूको बेलायतमा गरिएको कार्बन परीक्षणबाट यो स्थल इसापूर्व भारतमा शुंग–कुषाणकाल र नेपालमा किराँतहरूको शासन अर्थात् १ सय २० देखि २०० इसापूर्वको अर्थात् आजभन्दा २२ सय वर्ष पुरानो पुष्टि भइसकेको उनको दाबी छ। २०३५ सालमा यस स्थलको उत्खननको सुरुवात भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको इतिहास विभागले प्राध्यापक घनश्याम खनालको नेतृत्वमा गरेको मेची क्याम्पसका पूर्वप्रमुख तथा अग्रज पत्रकार चिन्तामणि दाहालले बताए। त्यसपछि मात्र पुरातत्त्व विभागको ध्यानाकर्षण भएको थियो।
महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर यस ठाउँमा मारेको किंवदन्ती छ।


0 comment