काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुद्ध सर्किटको कामलाई तिव्रता दिने बताएका छन्।
२५६७औं बुद्ध जयन्तीका अवसरमा रामग्राम नगरपालिकाले आयोजना गरेको बुद्ध अस्तुधातुको रथ यात्रा कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार परासीको रामग्राम स्तुपमा पुगेका प्रधानमन्त्रीले आफू बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्ष रहँदा लुम्बिनी गुरुयोजनाका विषयमा संयुक्त राष्ट्र संघमा समेत कुरा उठाएको र संयुक्त राष्ट्र संघबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकाले अब त्यसभित्रको बुद्ध सर्किटको कामलाई तिव्रता दिने बताए।
आफ्नौ पूरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताउँदै प्रचण्डले भने, ‘बृहत्तर लुम्बिनी गुरुयोजनाभित्र लुम्बिनीसँगै रामग्राम, कपिलवस्तु र देवदहलाई समेटिने छ। यसले समग्र देशकै पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा टेवा पुग्छ।’
विश्वको एकमात्र गौतम बुद्धको अस्तुधातु रहेको रामग्रामको विकासका लागि पेस भएको रामग्रामको गुरुयोजना मन्त्रालयमा पेस भएकाले त्यसको कामलाई छिट्टै अगाडि बढाइने उनले बताए। रामग्रामको महत्वलाई व्यापक बनाउन नसक्दा ओझेलमा पर्दै गएकाले अब यस क्षेत्रको विकासलाई गतिदिन सरकार लागि पर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
देश अहिले आर्थिकरूपमा अप्ठ्यारो स्थितिमा रहेपनि सरकारले त्यसलाई क्रमशः सुधार गर्दै लगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले देशमा भएका सबै पर्यटन क्षेत्रलाई आर्थिक विकासमा ल्याएर जोड्नुपर्नेमा जोड दिए।
कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्राम ओझेलमा पर्नुमा सरकारले लुम्बिनीलाई मात्र महत्व दिएको बताए। रामग्रामको विकासका लागि पेस भएको गुरुयोजनाको कामलाई अगाडी बढाउन पनि नगर प्रमुख यादवले प्रधानमन्त्रीसँग आग्रह गरे।
प्रधानमन्त्रीको सम्बोधनअघि रामग्राम नगरपालिका क्षेत्रमा रहेको बुद्धसँग सम्बन्धित अर्को स्थल पण्डितपुरबाट बुद्धको अस्तुधातुको अवेशष राखेको रथ यात्राले रामग्राम क्षेत्र परिक्रमा गरेको थियो। श्रीलंकाबाट पठाइएको उक्र अस्तुधातुको अवेशष लुम्बिनी विकास कोषमार्फत रामग्राममा परिक्रमा गराउन ल्याइएको थियो। बुद्धका आठ अस्तुधातुमध्ये अन्य सबै क्षेत्रका निकालिए पनि रामग्रामको भने निकाल्न नसकेकाले यो क्षेत्रलाई लुम्बिनीपछिको दोस्रो बुद्ध स्थलका ऐतिहासिक रूपमा लिइएको छ।
0 comment