काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सहरका पोलहरूमा अव्यवस्थितरूपमा रहेका तारलाई व्यवस्थित गर्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् ।
महानगरका मेयर शाहले गत वर्षमात्रै अव्यवस्थित तारहरूको कारण ५३ ठाउँमा आगलागी भएको स्मरण गर्दै शाहले भने,‘आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँहरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौं ।’
तारलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको भएपनि सुनुवाई हुन नसकेको उनले बताए । महानगरले १५ दिन अगाडि सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेको थियो ।
शाहले भने,‘यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर, त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’ समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर नबन्ने उनको भनाइ छ।
0 comment