काठमाडौं - सिन्धुलीमा झण्डै दुई हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिएको छ। 

बागमती प्रदेश सरकारको ७ करोड ४६ लाख ५४ हजार रुपैयाँको लागतमा कमलामाई नगरपालिका-५ कालीमाटीमा धुलिखेल निर्माण सेवाले रंगशाला निर्माण गरेको हो। 

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाइबाट रंगशाला निर्माण गरिएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताए।

‘रंगशालामा एक सय मिटर प्याराफिटमा सात वटा कोठा, चेन्जिङ रुम र सुविधा युक्त शौचालय निर्माण कार्य सम्पन्न भएको छ। टेण्डर अनुसार मैदानको गेग्रान हटाएर झार उमार्ने, घेराबार, गेट निर्माण लगायतका अधुरा काम यसै आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने।

६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा दूधौली नगरपालिका ९ मा यसअघि निर्माण थालिएको एक हजार पाँच सय दर्शक क्षमताको दूधौली रंगशाला दुई वर्षदेखि अलपत्र छ।