काठमाडौं - नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी प्रकरणमा हालसम्म १०६ जनाले जिल्ला प्रहरी परिसर काठमाडौंमा २० वटा उजुरी दिएका छन् ।
यसै सन्दर्भमा प्रहरीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको परिसरका प्रमुख एसएसपी दान बहादुर कार्कीले जानकारी दिए। थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था देखिएको एसएसपी कार्कीले बताए। ठगीबाट सुरु भएको उक्त मुद्दा संगठित अपराधमा परिणत गरेर ४० दिनयता निरन्तर अनुसन्धान भइरहेको समेत उनले बताए।
उजुरीमा कूल २३ करोड २५ लाख ठगी भएको जनाईएको छ । योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।
गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो । सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा. इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले बुधबार तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको छ ।
प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । प्रहरीले अहिले पनि सचिव रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरीको भनाइ छ । गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत भेटिएको प्रहरीले जनाएको छ ।
गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए । उनीहरूले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए ।
पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटक-पटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ ।
उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड बराबरको चेक समेत दिएका थिए । रकम सङ्कलनका लागि गिरोहले विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ ।
0 comment