काठमाडौं - उदयपुरको तीनवटा पालिकामा डेढ अर्बभन्दा बढीको लागतमा लिफटिङ खानेपानी आयोजना सुरु गरिएको छ। 

खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको रेखदेखमा २०८२ असार ३० गते सम्पन्न गर्ने गरी वृहत् लिफटिङ सुनकोसी खानेपानी आयोजना निर्माण सुरु गरिएको हो। 

एक अर्ब ५८ करोड ९६ लाखको लगानीमा निर्माण सुरु गरिएको आयोजनाबाट ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाका ६ हजार ३२७ घरधुरीका ३७ हजार २० जना उपभोक्ता लाभान्वित हुने बताइएको छ। आयोजना जलवायु अनुकूलित हुने छ। दुई वटा स्किममा विभाजन गरिएको आयोजनाको स्किम १ बाट लिम्चुङ्बुङ गाउँपालिका वडानं १ देखि ५ सम्म र रौतामाई गाउँपालिको वडानं १ देखि ३ सम्मका ३ हजार २७२ घरपरिवार समेटिने छन्। त्यसैगरी स्किम २ बाट ताप्ली गाउँपालिकाको वडानं १ देखि ५ सम्मका ३ हजारभन्दा बढी घरधुरीपरिवार लाभान्वित हुनेछन्। 

स्किम २ अन्तर्गत ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा रिजर्भ ट्यांकी निर्माण, पाइपका लागि नाला खन्ने, गार्ड हाउस निर्माण तथा पाइपहरू ढुवानी लगायतका काम भईरहेको छ। ताप्लीका १७ हजार ८७९ जना उपभोक्ताले ६ हजार ३२७ वटा धारा मार्फत स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउने छन्। तीनवटै पालिकाका उपभोक्तालाई लक्षित गरी सुरु गरिएको आयोजनाका लागि एक प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ।

सोही अन्तर्गत ताप्ली गाउँपालिकाका उपभोक्ताले एक करोड ५८ लाख ९६ हजार ५५२ रुपैयाँ संकलन गरी जम्मा गरिदिएपछि योजना अघि बढेको अध्यक्ष ढुङराज विश्वकर्माले बताए। भौगोलिक विकटता र स्थानीयको आम्दानीलाई हेरी केही रकम पालिकाबाट सहयोग हुने उनले बताए। 

आयोजना प्रमुख चोकप्रसाद धितालका अनुसार स्किम १ मा आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७ दशमलव ५ लिटर र स्किम २ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६ दशमलव ५ लिटर पानी तानेर रिजर्व ट्यांकीमा जम्मा गरिनेछ। ट्यांकीबाट उपभोक्तालाई पाइपमार्फत घर–घरमा पानी वितरण गरिने उनले बताए। 

आयोजना सञ्चालन हुँदा स्थानीयले स्वच्छ पानीको काकाकुल जीवन बिताउनु नपर्ने ताप्ली गाउँपालिकाका उपाध्यक्ष धनम मगरले बताइन्। पिउने पानीकै लागि २/३ घण्टाको यात्रा गर्नुपर्ने, घरमा ल्याएको पानीको जोह गर्नु पर्ने समस्याबाट स्थानीयले मुक्ति पाउने उनको भनाइ छ। ग्रामीण भेगमा पिउने पानीको अभावकै कारण बसाइसराई हिँड्नुपर्ने समस्याको समेत समाधान हुने उपाध्यक्ष मगरले बताइन्।