काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन ऊर्जामन्त्री सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

गत मंसिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझी यसअघि उपप्रधान तथा ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकास मन्त्री र शान्तिमन्त्री भएका थिए।

सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि आजै पक्राउ परेका छन्। उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

यसअघि मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका थिए । राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर,उनी फरार छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोरा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले सन्दीपको नाममा काटिएको डेढ करोडको चेक पनि फेला पारेको छ।

पक्राउ परेकामाथि भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप छ। नक्कली कागजात बनाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो। 

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको उजुरीका आधारमा हालसम्म रायमाझीका सहयोगी सानु भण्डारी, कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल, सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन् । संगठीत अपराधको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान भइरहेको छ ।

यसैबिच प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । 

रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँचीको सन्धीखर्कमा पत्रकासँग संक्षिप्त कुराकानी गर्दै रायमाझीले भने, ‘फसाउन खोजिएको हो कि के हो? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन । ’ उनले आफू भुटानी शरणार्थीहरूको दिर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।