काठमाडौं - बाराको गढीमाई मन्दिरसँगै महागढीमाई नगरपालिका क्षेत्रमा पाँच दलीय गठबन्धनका नेता र सरकारका मन्त्रीहरूलाई प्रवेशमा रोक लगाइएको छ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलीय गठबन्धनका नेतागण तथा मन्त्रीज्यूहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छु। धन्यवाद।’
बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा भएको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खटिएका मेयर यादवले बुधबार सामाजिक सञ्जालमा यस्तो पोष्ट गरिएपछि यसले चौतर्फी चर्चा पाएको छ।
२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर यादव मेयरमा निर्वाचित भएका थिए। २०७४ मा पनि उनी कांग्रेसबाटै मेयरमा निर्वाचित भएका थिए।
नगरपालिकामा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएको आक्रोशमा मेयर यादवले महागढीमाइ नगरपालिका क्षेत्र र गढीमाई मन्दिरभित्र गठबन्धन दलका नेता र मन्त्रीहरूलाई प्रवेश निषेध गरिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका हुन्।
उक्त पोष्टमा मेयर यादव आफैले कमेन्ट गर्दै लेखेका छन्, 'नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो। अहिले पनि अतोपत्तो छैन। यसको कारणले नगरपालिकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारी लगायत स्थानिय बासीहरूको जीवन कष्टकर हुने भएको अवस्था छ। महागढीमाई नगरपालीकाको विकासको लागि गठबन्धनका नेता र मन्त्रीज्यूहरूले वाचा गरेपनि अहिले सम्म हाकिम नपठाएर विजोगको अवस्था सिर्जना भएकाले आज म यो कदम उठाउन बाध्य भएको छु।'
मेयर यादवका अनुसार गत फागुनको सुरुमै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा सरुवा भई अन्त गएपछि महागढीमाई नगरपालिकाको कार्यालय तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतवीहिन् छ।
मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा नगरपालिकाका कर्मचारीहरूले तलब समेत खान नपाएको, आर्थिकदेखि प्रशासनिक कामहरू ठप्प नै भएको, सेवाग्राहीहरूको काम नहुँदा कर्मचारी र जनप्रतिनिधिले गालीगलौज सुन्नु परेको गुनासो मेयर यादवको छ।
प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालयमा आफू तीन महिनादेखि धाइरहेको भएपनि आश्वासन मात्र पाएको तर हालसम्म प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआएको मेयर यादवले बताए।
यादवले भने, ‘मन्त्रालयमै धाएर पटक पटक ताकेता गर्दा गर्दै थाकेपछि विकल्प नदेखिएपछि बाध्य भएर बुधबार फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेको हुँ।'
0 comment