काठमाडौं – मंगलबार दिउँसो आएको हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ । हराएका १२ मध्ये ७ जनालाई भने सुरक्षाकर्मीले हिजै उद्धार गरेको थियो । बेपत्ता मध्ये ४ महिला र एकजना पुरुषको भने कुनै पहिचान हुन सकेकोे थिएन ।  

दार्चुलाको हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुली सकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ । 

जस मध्ये बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका छन् ।

आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली गएर उद्दार गर्ने प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन् ।