काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका पूर्व उपसचिवविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सवारी चालक अनुमतिपत्र बागमती अन्तर्गत काठमाडौंको सुकेधारास्थित कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर भएको अख्तियारले जनाएको छ।
भट्टराईले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको विसं २०३८ साउन १ देखि विसं २०७५ मंसिर मसान्तसम्मको आयव्यय अनुसन्धान गरेको थियो। जसमा १ करोड ९२ लाख एक हजार ९२२ रुपैयाँ आम्दानी देखिँदा ३ करोड ७ लाख ३१ हजार ११६ खर्च देखिएको थियो।
अख्तियारले एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सोही दफा १५ ले लक्षित गरेको सोही ऐनको दफा ३ एवं सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको जनाएको छ।
उपसचिव भट्टराईले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
0 comment