काठमाडौं - प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ।
राईले तत्कालिन गृहमन्त्री थापासहित गृहका उच्च अधिकारीको नाम मुछेर पैसा असुलेको प्रमाण प्रहरीले पाएको छ । यद्यपी, प्रहरीले तत्कालिन गृहमन्त्री थापासँग लेनदेन भएको प्रमाण भने भेटाएको छैन ।
राईले पैसा उठाउनकै लागि मात्र तत्कालिन गृहमन्त्री थापालगायत उच्च अधिकारीहरूको नाम लिएको हुनसक्ने प्रहरीको अनुमान छ।
यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल, टंककुमार गुरूङ, सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ। उनिहरुकै बयानका आधारमा प्रहरीले थप अनुसन्धानका लागि इन्द्रजित राईलाई पक्राउ गरेको हो ।
राईले पाँच करोड बढी रकम सर्वसाधारणबाट उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । राईसँगको बयानका आधारमा अन्य संलग्नहरू खुल्दै जाने प्रहरीले बताएको छ ।
प्रहरीले इन्द्रजित राईका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। सोही घटनामा निरजको पनि संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निरज हाल फरार छन्।
0 comment