काठमाडौं - जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ ।
आगलागीका कारण कार्यालयको नागरिकता प्रतिलिपि फाँटका कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।
मंगलबार बिहान करिब ५:४० बजेतिर विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।
आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति हुनबाट जोगिएको हो । छेउमै रहेको बारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ ।
कम्प्युटर, प्रिन्टर लगायतका उपरकण जलेर नष्ट भएपछि अर्को सूचना नहुञ्जेलसम्मका लागि नागरिकता प्रतिलिपि फाँटको सेवा बन्द गरिएको छ । आगोले शाखामा रहेको श्रेस्ता र सर्भरमा प्रविष्ट भएको तथ्याङ्कमा कुनै क्षति नभएको कार्यालयले जनाएको छ ।
0 comment