काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन्।
सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरू जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताए । बाध्यतामा परि ऋण लिएका किसानको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए।
भट्टराईले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे । जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगीत गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनको भनाइ छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।
0 comment