काठमाडौं - यती विमान दुर्घटनाको कारणसहितको विस्तृत प्रतिवेदन सार्वजनिक गर्न सरकारले दिएको ४५ दिने अल्टिमेटम सकिएको छ।
विमानका पार्टपुर्जाको जाँचको प्रतिवेदन नआएकोले सरकारले दिएको समय सक्किँदा पनि अनुसन्धान बाँकी नै रहेको छ।
गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनालगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो। मन्त्रिपरिषद्ले जाँचबुझ गरी दुर्घटनाको कारणसहितको प्रतिवेदन सार्वजनिक गर्न ४५ दिनको समय दिएको थियो। तर, उक्त समयमा पनि आयोगले विस्तृत प्रतिवेदन सार्वजनिक गर्न समय लाग्ने भन्दै सरकारसँग माग गरेको थियो। फेरि गत फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यती एयरलाइन्स दुर्घटना छानबिन आयोगलाई पुनः ४५ दिने समय थपेको थियो। सरकारले आयोगलाई दिएको ४५ दिनको समय वैशाख १६ गते सकिएको छ।
दुर्घटनाको अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ। आयागले आन्तरिक रूपमा भने अन्तर्वार्ता लिने, आवश्यक अभिलेखहरू संकलनको काम सकेको जनाएको छ। अहिले ती अन्तर्वार्ता र अभिलेखको अध्ययन तथा विश्लेषण गर्ने काम भइरहेको आयोगले जनाएको छ। विमानका पार्टपुर्जाका अध्ययन तथा विश्लेषण पछी घटनाको कारण थाहा हुने आयोगले जनाएको छ।
नेपालमा दुर्घटना भएको यतीको उक्त जहाजको इन्जिन क्यानडा (प्राक एन्ड ह्विटनी कम्पनी) मा बनेको हो भने एयर फ्रेम (ककपिट, पंखा, पखेटा, टायरलगायत) फ्रान्समा र प्रोपेलर अमेरिकामा बनेको हो। आयोगले सार्वजनिक गरेको दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले दुवै इन्जिन प्रोपेलर फेदरमा जानु घटनाको मुख्य कारण हुन सक्ने शंका गरेको थियो। यसकारण पनि सो सम्बन्धमा थप अध्ययन जरुरी रहेको बताइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १ गते अवतरण गर्ने क्रममा यती एयरलाईन्सको विमान दुर्घटनाग्रस्त भएको थियो।
बाहिरबाट रिपोर्ट नआइसकेको र आन्तरिक रूपमा अनुसन्धान जारी रहेकाले प्रतिवेदन सार्वजनिक गर्न अझै समय लाग्ने देखिन्छ।
0 comment