काठमाडौं - “धरानैको बजारैमा माया बस्यो एकै नजरमा” यो गीत हिजो भक्तपुरको सल्लाघारीमा निकै बज्यो । सन्दर्भ थियो, देशकै सुन्दर नगरी धरानबाट काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा क्रियाशील धरानेहरुको नयाँ वर्ष शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम ।
क्रियाशील नाट्यकर्मी राजेन्द्र रिमालको अगुवाईमा “धरान बाहिरका धराने” नामक अनौपचारिक समुहद्वारा आयोजित धराने बनभोज कार्यक्रममा काठमाडौंमा रहेका धरानेहरुको अभूतपूर्व सहभागिता रहेको थियो । कार्यक्रममा न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठ, पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, नेपाल प्रहरीका एआईजी सन्दीप भण्डारी, पूर्व सांसद जयकुमार राई, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, नेपाली सेनाका जर्नेल नवराज गुरुङ आदिको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार आनन्द श्रेष्ठले सञ्चालन गरेका थिए ।
कार्यक्रमको आवश्यकता र औचित्यको बारेमा बोल्दै राजेन्द्र रिमालले काठमाडौंमा रहेका धरानेहरुको नेटवर्क, एकता र आवश्यक पर्दा एक अर्काको सहयोग जस्ता कुराहरु प्राथमिकता रहेको उल्लेख गरे । यस्तो कार्यक्रमको आवश्यकता धेरै पहिलादेखि नै महशुश गरेको भएपनि बल्ल सम्भव भएको उनले बताए । उनले कार्यक्रमका उपस्थित एवम् पुरस्कार प्रायोजन गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा करीब एक सय जना जतिलाई विभिन्न पुरस्कार वितरण गरिएको थियो । कोशेली जुत्ता, रत्न आभुषण ज्वेलर्स, धरान गहना गृह, नगमा–निर्जल, टिप्सी ब्याम्बो रेष्टुरेन्ट, फङ्की हाउस रेष्टुरेन्ट, विनोद श्रेष्ठ राजवंशी, प्रमेश ताम्राकार आदिले पुरस्कार प्रायोजन गरेका थिए ।
कार्यक्रममा बोल्दै न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले आफुहरुले धेरै पहिला धरानेहरुको संगठन बनाउने प्रयास गरेको स्मरण गर्नु भएको थियो । त्यस्तै पूर्व मन्त्री मीन विश्वकर्माले अहिले धरान भाईरल शहर भएको भन्दै धरानले श्रम संस्कृति विकासमा देशकै अगुवाई गरिरहेको बताए । उनले धरान राष्ट्रिय बजेटभन्दा पनि आफ्नै बुताबाट बनेको शहर भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै एआईजी सन्दीप भण्डारीले वर्षौं अगाडिका साथीभाइ तथा अग्रजहरुसँग एकै ठाउँमा भेट्न पाईएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । उनलाई सम्पूर्ण धरानेहरुको तर्फबाट बधाई ज्ञापन तथा आगामी दिनमा आईजिपी नै हुने शुभकामना समेत व्यक्त गरिएको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका रमना श्रेष्ठ तथा गायक सपन श्रेष्ठ, रनक नव बस्नेत, मथुरा श्रेष्ठ आदिले गीत गाएका थिए ।
विश्व संरक्षण संघ आईयुसिएनका पूर्व प्रमुख राजेन्द्र खनालले यस्तो कार्यक्रमको आयोजना चानचुने कुरा हैन भन्दै आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै विनय श्रेष्ठले आयोजकलाई परेको आर्थिक भार सबैले बोक्न तयार रहनु पर्ने बताए । उनका अनुसार यत्रो भव्य कार्यक्रम आयोजना गरेर हामीलाई गुन लगाउने आयोजकलाई आर्थिक भार पनि थप्नु उनिहरु प्रति अन्याय हुने बताए ।
प्राध्यापक सञ्जय कोईरालाले अनपेक्षित संख्याका अत्याधिक सहभागी भए पनि गुनासो गरिहाल्नु पर्ने ठाउँ नभएको उल्लेख गरे ।
उक्त बनभोज कार्यक्रम आयोजनाका लागि राजेन्द्र श्रेष्ठ, सुनील शाक्य, रोजेश शाक्य, संगम श्रेष्ठ, दीपेन्द्र शाक्य, राजा श्रेष्ठ, विनोद श्रेष्ठ, पुजन न्यौपाने प्रसाईँ, पुनम प्रधान, इशा अधिकारी क्षेत्री, शशी शर्मा पौडेल, कल्पना भण्डारी, आनन्द श्रेष्ठ, अनुभवभक्त श्रेष्ठ, देव श्रेष्ठ, नवीन श्रेष्ठ, अल्पना कर्माचार्य, सुमी कर्माचार्य, राजु गोले लगायतको टिमले काम गरेको थियो ।
0 comment