काठमाडौं - प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि सिरहाको धनगढीमाई नगरपालिकाको कामकाज ठप्प भएको छ। 

वडा–१० स्थित अवैध रूपमा उत्खनन भइरहेको ग्राभेल खानी बन्द गराएका कारण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेपछि शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूले कामकाज ठप्प पारेका हुन्। 

कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका धनगढीमाई–१२ का महेश अधिकारी र वडा–४ का रामएकवाल यादव (बतहा)सहित ५/७ जनाको समूहमा आएका व्यक्तिहरूले प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेमाथि हातपात गरेको हो। उनीहरूले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरूले बताएका छन्। हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समूहलाई बाहिर निकालेको थियो। 

कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा कायम र दोषीमाथि कारबाही नभएसम्म नगरपालिका र वडा कार्यालयहरूको कामकाज ठप्प राख्ने जनाएका छन्। स्थानीय तह कर्मचारी युनियनको जिल्ला अध्यक्ष राम उदगार यादवले पनि विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

घटनाबारे निवेदन आए सोहीअनुसार छानबीन गरी कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।