काठमाडौं -  विभिन्न राजनीतिक दलका युवा संगठनहरूले धरानका मेयर हर्कराज राई (सम्पाङ)लाई ज्ञापनपत्र बुझाएका छन्।

तरुण दल, राष्ट्रिय युवा संघ, वाइसीएल, लिम्बुवान युवा मञ्च र समाजवादी युवा संगठनले मेयर राईलाई ज्ञापनपत्र बुझाएको हो। विधि र प्रक्रिया बेगर काम गरेको र सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गरेको भन्दै युवा संगठनहरूले मेयर राईलाई ज्ञापनपत्रमार्फत सच्चिएर काम गर्न आग्रह गरेका छन्। 

उनीहरूले नगर प्रमुखजस्तो ब्यक्तिले अमर्यादित भएर काम गर्दा धरानको विकास प्रभावित भएको भन्दै ८ वटा प्रश्न गरेका छन्।

मेयर राईलाई ज्ञापनपत्र बुझाउन उपमहानगर पुगेका युवाहरूलाई सुरुमा सुरक्षाकर्मीले गेटभित्र प्रवेश गर्न नदिँदा केहीबेर तनाव उत्पन्न भएको थियो। पछि मेयर साम्पाङ आफैं गेटसम्म आएर ज्ञापनपत्र बुझेपछि स्थिति सामान्य बनेको थियो। 

पछिल्लो समय मेयर राईले सामाजिक सञ्जालमा झोले, गुइठेलगायतका अमर्यादित शब्द प्रयोग गर्ने गरेको र उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक बस्न नसकेको भन्दै मेयरको ध्यानाकर्षण गराउनका लागि ज्ञापणपत्र बुझाइएको वाइसीएल कोशी प्रदेश समिति सदस्य उषा परियारले बताइन्।