काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको हल्ला मात्रै भएको बताएका छन्।
मन्त्री किराँतीले जहाजमा चरा ठोकिएकोबारे अहिलेसम्म कहिकतैबाट पुष्टि नभएको जानकारी दिँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। यूएई (दुबई)को सरकारी निकायले फ्लाई दुबईको जहाज उडानका क्रममा चरासँग ठोक्किएको बताएपछि मन्त्री किराँतीले चरा ठोकिएकोबारे अहिलेसम्म कुनै प्रमाण नभेटिएको स्पष्ट पारेका हुन्।
सोमबार राति ९:२० मिनेट जाँदा काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा आगोको झिल्कोजस्तो आएपछि पाइलटले इमर्जेन्सी भनी एयर ट्राफिक कन्ट्रोल एटीसीलाई जानकारी गराएका थिए।
त्यसपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २८ मिनेट उडान र अवतरण बन्द गरिएको थियो। फ्लाई दुबईको जहाजको आकस्मिक अवतरणको तयारी गरिएको थियो। तर, पाइलटले सबै ठीक छ भनेपछि जहाज गन्तव्यतिर उडाएका थिए।
उक्त जहाज स्थानीय समयअनुसार सोमबार राति १२ बजेर ११ मिनेटमा दुबई विमानस्थलमा अवतरण गराइएको थियो।
0 comment