काठमाडाैं - राजनीतिक हस्तक्षेपले अस्तव्यस्त प्रहरी संगठनभित्र पछिल्लो समय केही मत्थर भएकाे छ । मत्थर भएसँगै प्रहरी संगठनभित्र वृत्ति विकासको काम हुन थालेपछि संस्थागत लय पक्रिएको अनुभव गरिएको हाे ।

प्रहरीमा कार्य क्षमता, दक्षता र वरिष्ठताको मूल्यांकन अनुसार बढुवा प्रक्रिया अघि बढेसँगै संगठन प्रमुखदेखि तल्लो तहसम्म एकखाले सन्तुष्टि छाएको हाे । राजनीतिक नेतृत्वले केही हदसम्म आफूलाई करेक्शन गरेपछि सुधार सम्भव भएको हो ।

नेपाल प्रहरीमा एसएएसपी बढुवाको बाटो खुलेको हो । गत बुधबार १३ जना एसएसपी डीआईजीमा पदोन्नतिमा सिफारिस भएसँगै एसएसपी बढुवाको गृहकार्य सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी संगठनमा १६ एसएसपीका पद रिक्त रहेका छन् । रिक्त भएसँगै दुई टोलीका ३ दर्जन बढी प्रहरी उपरीक्षक एसपी र एसएसपी बढुवाको लाइनमा रहेका छन् ।

प्रहरी नियमावली २०७१ मा एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समितिले सिफारिस गरेपछि बढुवाको बाटो मार्ग प्रशस्त हुन्छ । प्रहरी नियमावली अनुसार कार्य सम्पादन मूल्यांकन, नेतृत्व क्षमता, बढुवा समितिको अंक, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार मानिन्छ । यसअघि विभूषणको अंक समेत जोडिन्थ्यो । तर भनसुनको आधारमा तक्मा पाउने प्रवृत्ति बढेपछि अहिले विभूषण बापत पाउने अंक काटिएको छ ।

एसएसपी बढुवाको लागि एउटै ब्याचका २४ जना प्रतिस्पर्धामा रहेका छन् । बाँकी कसलाई एसएसपी बनाउने भन्नेमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय अन्याेलमा छ । एसएसपीमा बढुवा हुन २९ जेठ २०७५ मा एसपी भएका टोलीहरुबीच कडा प्रतिस्पर्धा हुने पक्का छ ।

राष्ट्रिय अनुसन्धानबाट आएका एसपी बिमल बस्नेत सबै भन्दा वरिष्ठ हुनुहुन्छ । यसैगरी विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले र सोमेन्द्रसिंह राठौर अग्रपंक्तिमा रहेका छन् ।

त्यस्तै, विश्व अधिकारी, विश्वमणि पोखरेल, अविनारायण काफ्ले, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्लीमगर, भूपेन्द्र खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि कुमार पौडेल, बेलबहादुर पाण्डे, दिपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभूषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन, वसन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

सरुवा बढुवामा हस्तक्षेप नगर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिवद्धता र संगठनभित्रको शुद्धिकरणलाई पहिलो प्राथमिकतामा राख्ने संगठन प्रमुख बसन्त कुँवरको प्रतिवद्धताले केही शुभ लक्षण देखिएको अनुभव गरिएको छ ।

यति हुँदाहुँदै पनि प्रहरी बढुवामा वरिष्ठता र कार्य क्षमता भन्दा नेताको चाकडीले खास अर्थ राख्ने गरेको नजिर बसिसकेकाले पनि प्रहरी अधिकारीहरु भने नेताका घर-घरमा धाउन भने छोडेका छैनन् । आशा गरौं यो प्रवृत्तिमा पनि सुधार आउने छ ।