काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।
प्रतिनिधि सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल चेम्बर अफ कमर्सले सो आग्रह गरेको हो।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो। चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरू भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ।
सभामुख घिमिरेले निजी क्षेत्र मैत्री कानुन निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए। ‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ,’ उनले भने, ‘तर अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरूलाई विश्वास दिलाउँछु।’
सभामुखले विषयगत समितिहरू गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरू दिन कमर्श पदाधिकारीको ध्यानाकर्षण गराए।
0 comment