काठमाडौं - चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। 

आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इच्छा मनकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरू भएको हो।  चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा २ बजेबाट मतगणना सुरू भएको हो।

उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।  चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुन:मतदान भएको हो।

चितवन क्षेत्र नं २ को पछिल्लो मतपरिणाम अनुसार ९४४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १४९२ मतसहित अग्रस्थानमा छन्।

सुरुवाती अग्रता लिएका एमालेका रामप्रसाद न्यौपाने ११३३ मतसहित दोस्रो स्थानमा छन् भने ७९५ मतसहित कांग्रेसका जितनारायण श्रेष्ठ तेस्रो स्थानमा छन्।

त्यसैगरी, बारा क्षेत्र नं २ मा जनमत पार्टीका शिवचन्द्र कुश्वाहा ११४६ मतसहित अग्रस्थानमा छन्। जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव १११७ मतसहित दोस्रो स्थानमा र एमालेका पुरुषोत्तम पौडेल ५३८ मतसहित तेस्रो स्थानमा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आम जनता पार्टीका अरुण ज्ञवालीले ११४ मत ल्याएका छन्। 

त्यस्तै, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार डा. स्वर्णिम वाग्ले १५ हजार ९५८ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ९ हजार १२० मत प्राप्त गरी दोस्रो स्थानमा छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल ५ हजार १६६ मत प्राप्त  गरी तेस्रो स्थानमा छन्।