काठमाडौं - विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन नेपाल सरकार उद्ध्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको उद्योग विभागले १० करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था गरेको छ। 

२०७९ साउन १ गतेदेखि अनलाइन प्रणालीमार्फत् विदेशी लगानी स्वीकृत गर्ने कार्य सुरु गरिएको हो। उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरूसँग आबद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने विभागको तयारी छ। चालू आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ। 

प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको छ। सोको कार्यान्वयनका लागि विभागले वेवमा आधारित अटोमेटिक रुट प्रणाली निर्माण गरेको विभागले जनाएको छ। 

विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन्। हाललाई २ करोड देखि १० करोड सम्मको परियोजना प्रस्ताव भएका तोकिएका उद्योगहरूमा यस प्रणाली मार्फत् विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ। 

नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको छ। अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेको छ। नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो। यस प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आइरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ।