काठमाडौं - धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्।
उनले कुनै खास कारण बिना पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि जनप्रतिनिधिले खेलवाड गरिरहेको आरोप लगाए। उनले वडाध्यक्षहरूसँग हालसम्म भएका काम कारबाहीको विवरणसमेत माग गरेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन) को उपधारा ४ क (नगर प्रमुखको काम कर्तव्य र अधिकार को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारण नभएको भन्दै मेयर साङपाङले धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको उल्लेख गरे।
'सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएकाले कार्यपालिकाको अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उल्लंघन गर्नु हो। बैठकमा के एजेण्डामा बोल्ने र कसले कति समयमा बोल्ने भन्ने कुराको निर्णय बैठकको अध्यक्षले गर्नेछ भनी सोही कार्यविधिको सोही दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरी धेरै नबोल्नु समय सकियो भन्दा 'बोल्छु के गर्छस्' भन्दै उफ्रनुले त्यस्ता सदस्यहरुको स्पष्टीकरण माग्नै पर्ने देखिन्छ,' विज्ञप्तिमा भनिएको छ, 'देश र जनताको सेवा गर्छु। आफ्नो कर्तव्य पूरा गर्छु। कुनै पार्टी, जाति, धर्म, बर्ग, क्षेत्र भन्दा माथि उठेर काम गर्छु भनी खाएको सपथ बिर्सेर पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मान्ने र जनताको विकासका कामहरू गर्न गराउन निर्णय गर्नुपर्ने महत्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरूप्रति खेद प्रकट गर्दछु।'
मेयर साङपाङले बैठक बस्दिनँ भन्ने जनप्रतिनिधिले राजीनामा दिएर मार्ग प्रसस्त बनाउन आग्रह गरेका छन्।
0 comment