काठमाडौं - सिरहाको मिर्चैया नगरपालिकामा स्थानीयबासीको प्रदर्शनमा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ।

नगरपालिकाले ३७ घर भत्काएपछी स्थानीयबासी प्रदर्शन गर्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। आन्दोलनकारीहरूले आफूहरूले उठाएको विषयमा मेयर श्रवण यादवले जवाफ दिनुपर्ने अडान राखेका थिए। मेयर यादव कार्यालय बाहिर नआएपछि आन्दोलनकारीहरुले ढुगांमुढा सुरु गरेका थिए। 

त्यही भीडलाई नियन्त्रण गर्न प्रहरीले २७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी गराए। आन्दोलनको क्रममा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएका छन्। आन्दोलनकारीको ढुगांमुढा र तोडफोडले नगरपालिकाको सवारीमा क्षति पुगेको छ। 

केहीदिन अघि नगरपालिकाले गाउँब्लक जग्गामा रहेको ३७ वटा घरहरु भत्काइएको थियो। जसमा मेयर यादवले सरकारको नाममा रहेको जग्गा खाली गराइएको दाबी गरेका थिए। तर, स्थानीयबासीले आफूहरू पुस्तौंदेखि गाउँब्लक जग्गामा बसोबास गरिरहेको बताएका छन्। आफूहरूको पुनः बसोबास कायम हुनुपर्ने उनीहरुको माग छ।